Saturday, March 11, 2017

मिस म्याच के हो र यसबाट कसरी बच्ने ?

आय विवरण पेश गरिसकेपछि धेरै करदाताको साझा समस्या बनेको छ- मिस म्याच। धेरै करदाताको हिसाव किताबमा कर कार्यालयले मिसम्याच फेला पार्ने र त्यही आधारमा थप कर तथा जरिवाना लगाईँदै आएको छ। अधिकांश करदाताको टाउको दुखाएको मिसम्याचका कारण र समाधानका उपाय बारे यहाँ उल्लेख गरिएको छ।

मिस म्याच के हो ?

आय विवरणको अनुसुची १३ मा भरेको र तपाईसँग कारोबार गर्ने (बिक्रेता, क्रेता, साहु, आसामी) ले बुझाएको विवरण फरक परेमा त्यसलाई मिसम्याच भनिन्छ। अनुसुची १३ मा तपाईंले बार्षिक एक लाखभन्दा (एकै वा पटक/पटक गरी) रुपैयाँ भन्दा बढि कारोबार (खरिद वा बिक्री) गरेका पार्टी र बर्षान्तमा कसैसँग लाख रुपैयाँभन्दा बढि लिनु वा दिनु भएमा सो विवरण भर्नुपर्दछ। कारोबार गरेकादुबै पक्षले पेश गरेको विवरण एउटै नभएमा, त्यसलाई मिसम्याचमा परेको भनिन्छ।

मिस म्याचले कर दायित्व सिर्जना गर्छ?

मिस म्याचले कर दायित्व सिर्जना गर्छ नै भन्ने हुदैन। तर, कर कार्यालयले तपाईंले पेश गरेको विवरण सहि छ कि छैन भनेर छुट्याउन प्रयोग गर्ने मुख्य अस्त्र मिसम्याच नै हो। जस्तो तपाईंले कुनै पार्टीबाट बर्ष भरिमा दश लाख रुपैयाँ बराबरको खरिद गरेको विवरण अनुसुची १३ भर्नुभयो। तर, उक्त पार्टीले तपाईंलाई त्यस अनुरुप बिक्रि गरे भनेर विवरण नदेखाएमा मिसम्याच हुन जान्छ।