Thursday, August 18, 2016

लेखानीति र टिप्पणी तयार गर्ने आधार एवं उदाहरणहरु


कम्पनी ऐन २०६३ को दफा १०८ ले कुनै पनि कम्पनीले आफ्नो लेखा दोहोरो लेखाप्रणालीमा आधारित र कम्पनीको कारोबारको यथार्थ स्थिति स्पष्ट रुपमा प्रतिविम्वित हुने गरी प्रचलित कानून बमोजिम अधिकारप्राप्त निकायले लागू गरेको लेखामान (एकाउन्टीङ्ग स्ट्याण्डर्ड) र यस ऐनबमोजिम पालना गर्नु पर्ने अन्य शर्त तथा व्यवस्था अनुरुप राख्नु पर्नेछ भन्ने ब्यबस्था गरेको छ ।

अर्थात, सबै कम्पनीले नेपाल लेखामान अन्तर्गत आफ्नो कम्पनीको लेखा राख्नुपर्ने बाध्यकारी ब्यबस्था ऐनले गरेको छ । त्यस्तै सोहि ऐनको दफा ११५ अनुसार लेखापरिक्षकले कम्पनीको वित्तिय विवरण माथि आफनो राय ब्यक्त गर्दा सो वित्तिय विवरण प्रचलित कानूनबमोजिम निर्धारण गरिएको लेखामान अनुरुप तयार भए वा नभएको र त्यस्ता विवरणहरू कम्पनीले राखेको लेखासँग दुरुस्त रहे वा नरहेको खुलाउनुपर्ने ब्यबस्था गरेको छ ।
कम्पनीले आफ्नो वित्तिय विवरण तयार गर्दा र त्यसमाथि लेखापरिक्षकले आफ्नो राय ब्यक्त गर्दा लेखामान अनुुसार छ कि छैन एकिन गर्नुपर्दछ । कानुनतः कम्पनीको हकमा मात्र लेखा राख्दा नेपाल लेखामान अनिबार्य हुन्छ, अन्य निकायहरु जस्तै सहकारी, साझेदारी, एकलौटी फर्मको लेखा राख्दा कानुनतः लेखामान अनिबार्य हुदैन । तर, वित्तिय विबरण सबैले बुझ्न सकुन, तुलनात्मक अध्ययन गर्दा सजिलो होस भनेर त्यस्ता निकायको लेखा राख्दा लेखामान ऐच्छिक रुपमा स्विकार गर्न सकिन्छ । आयकर ऐनको दफा २२ ले आयकर प्रयोजनका लागि ऐनले तोकेको आधारमा लेखांकन गर्नुपर्ने र नतोकिएको अवस्थामा लेखाको सामान्य प्रचलित सिद्दान्त अनुसार गर्नुपर्ने भनि व्यवस्था गरेको र नेपाल लेखामानलाई नै लेखाको सामान्य प्रचलित सिद्दान्त लिइने भएकाले कम्पनी बाहेकका फर्म, निकाय आदिले समेत नेपाल लेखामान अनुसार लेखा राख्नु उपर्युक्त हुन्छ ।

नयाँ जारी गरिएका नेपाल लेखामान (NAS) लाई “नेपाल वित्तिय प्रतिबेदनमान (NFRS)” भनिन्छ, तर नेपाल लेखामान वा नेपाल वित्तिय प्रतिबेदनमान जे भनेपनि नेपाल लेखामान बोर्ड (Accounting Standards Board) बाट जारी भएका नेपाल लेखामान, नेपाल वित्तिय प्रतिबेदनमान एबं Guidance Note हरु सम्पूर्ण लाई जनाउछ ।
यो लेखमा हामी बित्तिय विवरण तयार गर्दाका आधारभूत मान्यताहरु एवं खास गरि लेखा सम्बन्धि नीति तथा ब्याख्यात्मक टिप्पणीहरु बारे चर्चा गर्नेछौ ।