Saturday, February 4, 2017

स्वास्थ्य सेवा करको बिस्तृत अप्रेसन

सर्बत्र बिरोधका बाबजुत २०६३ सालबाट सुरु भएको स्वास्थ्य सेवा करको २०७३ को आर्थिक ऐन आउन्जेलसम्म प्रकृया तथा ब्यबस्थाहरुमा परिवर्तन आईसकेको छ । यससँग सम्बन्धित स्वास्थ्य सेवा निर्देशिका बनाई आन्तरिक राजस्व बिभागले लागु गरिसकेको छ (यद्यपि, सो निर्देशिका सामान्य नागरिक तथा करदाता कसैको पनि पहुँचमा छैन) । यो लेखमा स्वास्थ्य सेवा करको ब्यबस्था तथा आर्थिक ऐन, २०७३ ले गरेका महत्वपुर्ण परिबर्तनहरुको चर्चा गर्दैछौ ।

कसलाई लाग्छ स्वास्थ्य सेवा कर ?
आर्थिक ऐन, २०७३ को दफा ७ अनुसार “नेपाल सरकारले प्रदान गर्ने स्वास्थ्य सेवा र सामुदायिक अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवा बाहेकका व्यक्ति, संस्था वा निकायले प्रदान गर्ने स्वास्थ्य सेवामा जारी बीजक मूल्यको पाँच प्रतिशतका दरले स्वास्थ्य सेवा कर लगाइने र असुल उपर गरिनेछ” भन्ने ब्यबस्था रहेको छ । 

निजी स्तरमा व्यक्तिगत फर्म, प्रा.लि. वा लिमिटेडका रुपमा सञ्चालित स्वास्थ्य सेवा प्रदान गर्ने सम्पूर्ण व्यक्ति, निकाय वा स्वास्थ्य संस्थाले यो कर असूल गरी सरकारलाई बुझाउनु पर्दछ । यो कर जनरल अस्पताल, नर्सिङ होम, क्लिनिक, विशेष वा छुट्टै सेवाप्रदान गर्ने आँखा, दाँत, छाला, हाडजोर्नी जस्ता सेवा प्रदान गर्ने वा उपचार गर्ने सबै संस्थाले तिर्नु पर्छ । यस प्रकार हेर्दा नेपाल सरकार र सामुदायिक अस्पताल बाहेक अन्य जुनसुकै ब्यक्ति वा निकायले स्वास्थ्य सेवा प्रदान गरेमा कानुन अनुसार स्वास्थ्य सेवा कर असुल गरि नेपाल सरकारलाई बुझाउनु पर्दछ ।