Monday, September 21, 2015

गोरु ब्याउनु पर्छ भन्थे, संबिधान त आयो !!!

आज नेपालीलाई भाग्यमानी जनता मान्नुपर्छ, किन भन्दा संबिधान आयो भनेर मात्र होईन । आज नेपाली जनताले आफ्ना नेताले गर्दा खुसियाली साट्न पाएका छन त्यो नि जिबनमा सायदै पहिलो पल्ट होला । यस्तो खुसियालीको बेला कहिल्यै लोडसेडिङ नहुने ठाँउ धादिङबेसी आईपुगिएको छ । यो ठाँउ आउदा आज तिहारको लक्ष्मीपुजा हो कि अन्य कुनै समय छुट्याउन गाह्रो भईरहेको छ ।



सर्बसाधारणहरु घरघरबाट निस्किएर नयाँ सबिधानलाई स्वागत गरिरहेका छन् मानौ कि आज हरेक नेपाली सबैभन्दा बढि खुसी भएको दिन हो । चोक चोकमा नेपालको नक्सा बनाएर सजाईएको छ, हरेक घरमा दिपावली गरिएको छ, जनताहरु घरघरबाट चोकमा जम्मा भएर खुसी साटिरहेका छन् । हरेक चोकमा राष्ट्रिय गितहरु बजाएर हामी एकजुट भएको सन्देश सबै नेपालीले अर्कोसँग बाँडिरहेका छन् । मानौ कि हिजो सम्मको दुख तथा पिरमर्काहरु यहि संबिधानले त्रिशुलीमा बगाएर लगिदियो अब नेपालीको दुखका दिन बाँकि छैनन भनेर । यसरी नै त होला संबिधानलाई अपनत्व लिने । यो उत्साह देख्नुअघि यो संबिधानलाई जनताले यति खुसीका साथ स्वागत गर्लान भन्ने मलाई त पटक्कै लागेकै थिएन ।


यस्तो उत्साहले स्वागत गरेको संबिधानलाई सबै नागरिकले अपनत्व महसुस गरिदिउन । संबिधान बन्नु मात्र ठुलो कुरा होईन, यसको अक्षरशः पालना सबैभन्दा महत्वपुर्ण पाटो हो । यसमा यो संबिधान नेपालका पुराना सबिधान भन्दा एक कदमले अघि नै रहेनछ भन्नेमा म बिश्वस्त छु ।



जे जस्तो भए नि यहि धादिङबेसीको लोडसेडिङ बिनाको बिजुलीले दिने उज्यालो जस्तो उज्यालो यो सबिधानले दिन सकोस, नेताहरुले जनतालाई भबिस्यमा यसै गरि खुसी दिईरहन सकुन । नयाँ सबिधानको लागि सबै नेपालीलाई धादिङबेसीबाट शुभकामना ।।।