Wednesday, March 4, 2015

होली होस त नेपालगन्जको जस्तो...

आजभन्दा ठिक चार बर्ष अघिको होली आजसम्म मैले खेलेका होली भन्दा एकदमै पृथक रह्यो । त्यस समय एकै बर्ष दुई ठाँउमा दुई दिन होली खेलेको पहिलो अनुभब थियो । पहिलो दिन पहाडको होली सल्यानमा खेलियो भने, दोश्रो दिन तराईको होली नेपालगञ्जमा खेलियो । होली खेल्ने कुरामा भने पश्चिम नेपालको सल्यानमा खेल्ने होलीमा भने केहि नयाँपन देखिन, अरुतिर जस्तै, उस्तै बिकृती । तर भोलिपल्ट तराईमा झरेर नेपालगञ्जमा खेलेको होली भने अहिले सम्मकै एकदमै अबिस्मरणिय रह्यो ।

नेपालगञ्जको होली नेपालमा मैले होली खेलेका ठाँउको तुलनामा भने एकदमै सभ्य, आपसमा आत्मियता बढाउने र सम्झनयोग्य थियो । नेपालका धेरै जिल्लामा खेलेको होली भन्दा नेपालगञ्जको होलीले एकदमै आत्मियता बोकेको थियो ।

होली खेल्नको लागि हामीले नेपालगञ्ज बजार एक फन्को लगायौं, त्यस बिच कसैले पनि लोला हानेको देख्न पाईएन । बाटोमा होली खेल्दै हिडेको जमात हामीतिर आउथ्यो र सोध्थ्यो दाई होली खेल्ने होइन ? रङ लगाईदिउ ? हामी काठमाण्डौको जबरजस्ती रङ दलेको अनुभब भएका र ढाड रन्किने गरि लोला खाएकालाई यस्तो अबस्था देख्नु त आफैमा अचम्म थियो । हामीले हुन्छ भने पछि उनीहरुले ह्याप्पी होलीभन्दै रङ दलेर अंङ्गालो मार्दै अघि बढ्थे । त्यसपछि, हामीले बोकेको रङ उनीहरुलाई दलिदिन्थ्यौं । उनीहरु पनि रङ दलिदिनु भन्दै गाला थाप्थे ।
यसरी आपसमा रङ दलेर होली मनाउदै नेपालगञ्ज बजार घुमिसक्दा पनि कसैले हामीमाथी जबरजस्ती होली खेल्न बाध्य बनाएन । बजारको चोक चोकमा ठुलो आवाजमा गित बजाएर नाच्ने युवा युवतीको जमात पनि ठुलै थियो । त्यसरी गित बजाएको ठाँउमा गएर नाच्दै होली खेलीसकेर फर्कदा जिबनमा नयाँ खुसीको तरङ्ग सञ्चार भईरहेको थियो ।

होटल फर्केर रङ पखाल्दा पनि सजिलै गयो अर्थात कुनै पनि खराब रङको प्रयोग हामीमाथी भएको रहेनछ । त्यसले नेपालगञ्जबासीसँगको हाम्रो आत्मियता झन बढाएर लग्यो । बेलुकी होलीको थकाई मारिसकेर बागेश्वरी मन्दिर पुग्दा त्यहाँ शुभकामना साटासाट गर्नेको निकै ठुलो भिडभाड थियो । धेरै नेपालगञ्जबासीहरु जम्मा भएर आपसमा अंकमाल गरि होलीको शुभकामना साटासाट गरिरहेका रहेछन । चिनेको होस वा नचिनेको होस भेट भएकासबै एक अर्कासँग अंकमाल गरेर होलीको शुभकामना दिदै बिदाई गरिरहेका थिए ।
त्यो होली खेलेपछिको यसपाली चौथो होली खेल्दैछु, । नेपालगञ्जको होलीमा अहिलेसम्म बिकृती भित्रिएको छैन भन्ने बिश्वास र कामनाको साथ यस बर्ष अर्कै जिल्लामा गएर यो भन्दा बढि आत्मिय र सभ्य होली खेल्ने रहर मनमा जिबितै छ, तर थोरै मात्र आशाको साथमा........