Tuesday, February 17, 2015

आकस्मिक सेवामा यस्तो हेलचेक्राई आखिर कहिलेसम्म?

कपास उद्योगमा भएको आगलागीमा मैले जे भोगें

शनिबार बेलुकीको बीबीसी नेपाली सेवाको कार्यक्रम रेडियोमा बजिरहेको थियो। एक्कासी बाहिर केहि मान्छेहरु कराएको आवाज सुनियो। के भएको रहेछ भनेर बाहिर हेर्दा, मेरो कोठाबाट नजिकै निकै ठूलो आगलागी भइरहेको थियो। आगोको मुस्लो निकै माथिसम्म निकै साह्रो गरि दन्किरहेको थियो।
म हत्तपत्त कोठा बाहिर निस्केँ, र के गर्ने नगर्ने अलमलमा परेँ। दाजुले दमकललाई फोन गर्दिऊ भन्यो। खल्तिबाट मोबाईल निकालेर दमकलको आकस्मिक सेवा नं. १०१ मा फोन गरे कुनै पनि हालतमा फोन लागेन। केहि नलागेपछि, मैले प्रहरीको हटलाईन १०० मा फोन गरे। त्यसमा पनि उहि ब्यस्तको टोन बजिरह्यो। लगातारको प्रयास सफल नभइरहदा आखैं अगाडि निकै डरलाग्दो आगो दन्किरहेको थियो।
त्यसपछि मैले अर्को जुक्ति निकाले, ट्राफिक कन्ट्रोल र प्रहरी कन्ट्रोल बिच सम्पर्क सम्भब हुन्छ भनेर ट्राफिक कन्ट्रोल १०३ मा फोन लगाए, फोन तुरुन्त लाग्यो। त्यसपछि घटनाबारे जानकारी गराए र सहयोगको लागि प्रहरी र दमकललाई खबर गरीदिन अनुरोध गरे। कन्ट्रोलबाट बोल्ने प्रहरीले पनि तुरुन्त ‘सर्कुलेट’ गर्ने आश्वासन दिए। त्यसपछि पनि मेरो मन थामिएन, उता खबर पुग्यो कि पुगेन फेरि १०० मै फोन गर्नुपर्यो भनि पुनः प्रयास गर्दा पनि फोनमा ब्यस्तकै टोन बजिरह्यो। मसँग भएका दुईवटै मोबाइलले लगातार एउटाले दमकल र अर्कोले प्रहरीलाई सम्पर्क प्रयास गर्दा बल्लबल्ल १०० मा फोन लाग्यो र फेरि अबस्था जानकारी गराउँदै दमकललाई जानकारी गराईदिन र अन्य सहयोग गर्नका लागि आग्रह गरेँ।
फोन लागेको केहि मिनेटमै म घटनास्थल पुग्दा मानिसहरुको घुँइचो लाग्न सुरु भईसकेको थियो। घटनास्थलबाट केहि सय मिटरको दूरीमा भएको प्रहरी कार्यालयको उपस्थिति सङ्ख्याको हिसाबले ज्यादै न्युन भएर हो कि उपस्थित नै नभएर हो मैले उनीहरुलाई कहि कतै हेर्ने प्रयास गर्दा पनि देख्न सकिन। आगो लागिरहेको थियो त्यसको छेउमा रहेका दुईघरहरुमा आगो सल्किने प्रयास गरिरहेको थियो भने स्थानीयहरु घरको छतमा चढेर सल्किन खोजेको आगोमा लगातार पानी खनाएर सल्किन रोकिरहेका थिए।
लगातार तीनवटा सिलिन्डर पड्किँदा त्यहाँको माहोल अझ त्रसित बनेको थियो। सल्किएको कपास उद्योग अगाडिको बिजुली र टेलिफोनको तारहरु बल्न सुरु गरिसकेका थिए। भाग्यले साथ दिएको भनौ वा के भनौ लोडसेडिङ भएकाले थप क्षति हुनबाट बच्यो।
मानिसहरुको चाप थेगिनसक्ने गरि बढेको बढ्यै थियो। त्यहाँ उपस्थित अधिकांशलाई त्यो आगलागी जिज्ञासा मेटाउने र गफ गर्ने बिषयमात्र बनिरहेको थियो। अधिकांशले त्यो आगलागिलाई कसरी नियन्त्रण गर्ने भन्दा पनि मनोरञ्जनको साधनको रुपमा प्रयोग गरिरहेका थिए।
लगभग आगलागी भएको आधा घण्टा बितिसकेको थियो। सबैले दमकल र प्रहरीको ब्यग्र प्रतिक्षा गरिरहेका थिए। केहि प्रहरीहरु आइपुगे तर, तिनिहरु पनि के गर्ने नगर्ने अलमलमा परेको अनुभव हुन्थ्यो। उनीहरु पनि सर्बसाधारण झै मुकदर्शक हुनबाहेक केहि गर्न सकेनन्।
त्यहाँ उपस्थित सबै सर्बसाधारणहरु सरकारी ब्यवस्थापन प्रति निकै नै क्रुद्ध देखिन्थे। बिभिन्न पत्रिका र टेलिभिजनका पत्रकार तथा क्यामरापर्सन आएर भिडियो खिचिसक्दा पनि दमकल आइपुगेको थिएन। त्यस भीडबाट एक ब्यक्ति ‘हिरो’ बनेर बाटोमा आएर, ‘नेपाल सरकार मुर्दावाद’ भन्दै नारा लगाउन थाले। तिनलाई साथ दिनेको लामै लर्को लाग्यो, सबै आगो निभाउने प्रयास छोडेर नाराजुलुसमा ओर्लिए र ‘जिन्दावाद’ र ‘मुर्दावाद’को नारा घन्काउन थाले। सायद धेरैले सोचे होलान, आगो निभाउने जोखिम भन्दा नारा लगाउन मै मजा छ। आखिर हामी अधिकांश नेपालीले जानेकै त्यति नै त हो नि।
नारा लगाउँदा लगाउँदै, साइरन बजाउदै ९ः४० मा काठमाडौं महानगरपालिकाको दमकल आइपुग्यो। त्यसपछि त त्यो नारा लगाउने जमात आगो निभाउन नदिने बरु दमकल नै जलाउने भन्दै बाटोमा आर्लियो। दमकल आइपुग्न नपाउँदै, दमकलमा ढुङ्गा बर्साउन थालिहाले। केहि प्रहरी र केहि स्थानीयको सहयोगमा दमकललाई सुरक्षा दिँदै आगो निभाउन सुरू भयो। कपास उद्योगमा लागेको आगोलाई पानीले के काम गथ्र्यो र? त्यसपछि आएका प्रहरीको र ललितपुर उपमहानगरपालिकाको दमकलको पनि आगो निभाउने प्रयासले कुनै मुर्त रुप लिन सकिरहेको थिएन। सबै दमकलको पानी सकिँदा पनि आगो ज्युँका त्युँ थियो। पानी सकिएर दमकलहरु पानी भर्न हिडे, आगोले पुनः आफ्नो बास्तबिक रुप जोडतोडले देखाउन सुरु गरिहाल्यो।
त्यसपछि फेरि मैले दश बजे तिर सेनाको हटलाइन १०५ मा फोन गरेर सेनाको दमकल नि सहयोग गर्नुपर्यो भनेर अनुरोध गर्दा सेनाले दमकल र ४० जनाको सेनाको टोली सूर्यबिनायकबाट घटनास्थदतर्फ अघि नै हिडिसकेको जानकारी पाइयो। दमकल त एकछिन पछि आइपुग्यो। तर, आगो निभाउन पठाएको सेनाको टोली बिस्तारै अल्छि मानि मानि १०ः३५ मा घटनास्थल आइपुग्यो। आगलागीले गाँउ नै सकिन लाग्यो भन्दा पनि सेनाको टोलीलाई बिस्तारै हिँडाएर घटनास्थल पठाउने त्यहाँका हाकीमको बुद्दि देख्दा एकदमै दिक्क लागेर आयो। किन सेनासँग सवारीको कमिले त्यसो गरेको कि, घटनाको गाम्भिर्यता नबुझेको हो त्यहाँ भएका म लगायत कसैले पनि बुझ्न सकेनन्।
त्यसपछि सेना, प्रहरी, काठमाडौं महानगरपालीका र ललितपुर उपमहानगरपालिकाको दमकलको घण्टौको संयक्त मेहनतले अन्त्यमा आगो नियन्त्रणमा त आयो तर समयमै नियन्त्रण नभएकाले क्षति भने कम गर्न सकिएन। त्यस घटनामा दमकलको सफलता भनेको त्यस गोदामबाट अन्य घरमा आगो सर्नबाट रोक्ने बाहेक अरु केहि हुन सकेन।
***
नेपालीपारा
यस घटना हेर्ने हो भने, नेपाल किन पछि परेको रहेछ भनेर पत्ता लगाउन ठूलो अनुसन्धान नै जरुरत पदैन। सबै नेपाली सबै कुरामा पोख्त रहेछन। कसैले नजानेकोे केहि छैन। आफूले बाहेक कुनै कुरा अरुले त जानेकै छैन जस्तो ब्यवहार गर्दछन्। त्यो आगो निभाउन दमकलमा आएका कर्मचारीलाई पनि त्यता यसरी पानी हाल, यसो गर, उसो गर भन्नेको ठूलै जमात थियो। मानौ कि सिकाउने ब्यक्तिहरु ठूलै आगो निभाउने तालिम लिएर घटनास्थल आएका छन्।
त्यस्तै नेपालीसँग अलिअलि छ भन्ने गरेको संबेदनशिलता पनि नेपालीले पोली खाइसकेछन्। त्यत्रो ठूलो घटनामा कसैको आर्थिक जिन्दगी नै तहसनहस भइरहेको बेला यो आगलागी ‘जोक’ गर्ने बिषय बनिरहेको थियो। त्यस्तै यो आगलागी अधिकांशलाई आफ्नो मोबाईल प्रदर्शित गर्ने राम्रो प्लेफार्म भइरहेको थियो। अधिकांश मानिसहरु आगो नियन्त्रण भन्दा पनि त्यस आगलागीको फोटो तथा भिडियो बिभिन्न कोणबाट एङ्गल मिलाई मिलाई मोबाईलमा कैद गर्नमै ब्यस्त थिए। मानौ कि तिनिहरुले त्यो घटनाको ‘लाईभ’ टेलिभिजनबाट ब्रोडकास्ट गरिरहेका छन्। 
सरकारको त झन के कुरा ?
सरकारको त झन कुरा गरिसाध्ये छैन। आकस्मिक भनेर छुटाएको कुनै नम्बरमा भन्ने बित्तिकै फोन नै लाग्दैन। कुनैमा फोनमात्र लगाउन पनि लामो प्रयास गर्नुपर्छ। फोन लागिसकेपछि पनि, घटनास्थल पुगेर पीडितले सहयोग पाउनु त निकै परको कुरा भयो। समाज कति परिबर्तन भयो, बस्ती बढेर कहाँ पुग्यो त्यती सानो कुरोको त हेक्का नभएको सरकारबाट ठूलो अपेक्षा गर्नु निकै ठूलो भुल हुने रहेछ। त्यस्तो कपास उद्योगमा लागेको आगोलाई पानीले निभाउन खोज्नु कहासम्मको गरिब सोच हो। बिश्वबजार प्रबिधिमा निकै अघि बढिसकेपनि नेपालमा आगो निभाउने बस्तु पानी बाहेक नि अरु चिज छ भन्ने कुराको सोच पनि आइसकेको रहेनछ। त्यही आगोलाई कार्बनडाइअक्साईडको प्रयोगले निभाएको भए ठूलो क्षति बिनै छोटो समयमै आगो नियन्त्रणमा लिन सकिन्थ्यो। त्यसतर्फ सम्बन्धित निकायको ध्यान जाने कहिले होला ? भबिस्यमा हुनसक्ने यस्ता सम्भाबित दैबी दुर्घटनालाई थोरै मात्र ब्यबस्थित गर्न सके पनि क्षति न्युनिकरण गर्न सकिन्थ्यो कि।
 ***

आगो केहि नियन्त्रणमा आएपछि राति बाह्रबजे कोठा फर्कदा पनि फोन लाग्दो रहेछ कि लाग्दो रहेनछ भनेर म १०१ नम्बरमा दमकललाई फोन प्रयास गरिरहेको थिएँ। तर, मैले त्यसबेलासम्म पनि दमकललाई सम्पर्क गर्न पूर्ण रुपमा असफल रहेँ। आकस्मिक सेवामा यस्तो हेलचेक्राई आखिर कहिलेसम्म?

यो लेख सेतोपाटीको लागि लेखिएको र त्यहि छापिएको हो । सेतोपाटीका साथै केहि मोफसलका पत्रिकाले पनि यो लेखलाई प्राथमिकताका साथ आफ्नो पत्रिकामा छापेका थिए  यो लेख सेतोपाटीमा नै पढ्न यो लिंकमा क्लिक गर्नु होला