Friday, January 2, 2015

ती मरेका यात्रुको हत्यारा को हो?

उदयपुरको घुर्मीबाट कटारी आँउदा बसमा दुई वा तिनवटा टिकट काट्दा कोहि यात्रु बिरामी वा अशक्त छ भनेर बिशेष आग्रह गर्नुभयो भने एउटा सिटको टिकट पाउनुहुन्छ। बाँकी अरु सबै यात्रु कि त उभिएर कि त छतमा यात्रा गर्नुपर्छ। गाडी यति खराब हुन्छ कि कुनै उकालो आउन लाग्यो भने चालकले सिटमा बसे बाहेकका सबै यात्रुलाई ओर्लिएर उकालो चढ्नु भन्छन अनि गाडी उकालो लगाउँछन्। गाडी कुनै कारणले उकालो चढ्न सकेन भने दुर्घटना हुनेमा कुनै शंका नै हुन्न। यस्तो स्थिति रहदा पनि स्थानीय निकाय आँखामा पट्टि बाधेर बसेका छन्।
००
सुनसरीको ईटहरीबाट छोटो दुरीको गन्तब्यमा बिक्रम ट्याम्पो चल्छ। ती काठमाडौंबाट ट्याम्पो उन्मुलन गर्दा निस्कासित भएका ट्याम्पोहरु हुन्। ती ट्याम्पोहरु यति असुरक्षित छन् कि ती कुनैमा पनि राम्रो गरि ब्रेक लाग्दैन। दुईसय मिटर पर रोक्नलाई वरबाट नै ब्रेक लगाउनुपर्छ, नत्र कुनै हालतमा रोकिन्न। तर पनि स्थानीय प्रशासनले यी ट्याम्पो उपर न त प्रतिबन्ध लगाएको छ न त कारबाही नै। 
००
चितवनको नारायणघाटबाट काठमाडौंलाई केहि समय अघिसम्म माईक्रोहरु पालोमा बस्नैपर्ने त्यस्तो कडा कानुन थिएन त्यसैले पर्याप्त मात्रामा माइक्रो छुट्दा यात्रुलाई आराम थियोे। यात्रुहरु दलाल गरिगरि कतिमा लाने, सिट छ कि छैन भनेर रु तीन देखि चार सयमा काठमाडौं आउथे। तर अहिले माइक्रोको संघले स्थानीय प्रहरीसँग मिलेर त्यसरी पालो मिचेर हिड्ने माइक्रोलाई समातेर कारबाही गर्ने ‘कडा’ नियम बनायो। त्यसबापत संघले एउटा माईक्रो छुटे बापत ट्राफिक प्रहरीलाई रु १०० ‘रोयल्टि’ दिने भद्र सहमति गर्यो। अहिले काठमाडौंको लागि हरेक माइक्रोको सिट भरिएपछि मात्र छोड्ने भएकाले यात्रुले अहिले रु छ देखि सात सयसम्म तिर्नुपर्छ र बाटोमा चढ्नेले सिट पनि पाउदैनन्। एउटा माइक्रोको पालो सातामा दुईपल्ट आउदो रहेछ, यता काम नपाएर माईक्रोहरु ग्यारेजमा थन्काएर राख्नुपर्ने उता यात्रुहरु सिट नपाएर बिजोगको जोखिमपूर्ण यात्रा गर्नुपर्ने अबस्था रहेको छ।
००
काठमाडौंमा चाबहिलको गोपिकृष्ण हल नजिकैबाट महाराजगञ्ज, पुतलिसडक, नयाँ बानेश्वर हुदै कोटेश्वर बालकुमारी पुलसम्म नेपाल यातायात नाम गरेको सवारी साधन चल्छ। त्यो गाडी यति भरिभराउ हुन्छ कि त्यसमा जम्मा पन्ध्र यात्रु अट्ने सिट क्षमता छ, तर त्यसमा कम्तिमा पनि तीन गुणा बढी यात्रु यात्रा गरि रहेका हुन्छन। त्यो गाडी किन त्यति कोचामकोच हुन्छ भन्दा त्यो नेपाल यातायात समितिले तीनदेखि पाँच मिनेटको अन्तरमा (यात्रुको चाप हुने समय अनुसार) मात्र अर्को गाडी छुट्न अनुमति दिन्छ। यो रुटमा सिट भएको गाडीमा मात्र यात्रा गर्छु भन्यो भने कि त सो यात्रु सो गाडी चल्ने स्थान (गोपिकृष्ण वा बालकुमारी पुल) सम्म जानुपर्छ नत्र बाटोमा नै रुँघेको रुँघै हुन्छ। काठमाडौं भित्र यति साह्रो अत्याचार हुँदा नि सरकारी निकाय यसबारे बेखबर झै भएका छन्। बिहान बेलकै त्यहि गाडीबाट यात्रा गर्ने सरकारी अधिकारीहरुले सो गाडी तथा समितिलाई कारबाही गर्न अहिले सम्म जरुरत ठानेका छैनन्।

००
यी माथीका त नेपालका बिभिन्न स्थानका सडकमा देखिने केहि प्रतिनिधि घटना मात्र हुन्। परिस्थिति फरक फरक भएपनि, यी सबै घटनाको अन्तिम नतिजा भनेको दुर्घटना नै हो। सर्वसाधारण यात्रुले खप्न नसक्ने सास्ती त पाईरहेका छन् साथसाथै कहिले ज्यान जाने हो भनेर डराई डराई यात्रा गरिरहेका छन्। आखिर यस्तो भद्रगोल स्थितिको जिम्मेवार को हो त? यी दुर्घटनामा मरेका यात्रुको हत्यारा को हो? सामान्य नागरिकले सरकारले तोकेको कर तथा राजस्व नाँई नभनि लुरुलुरु तिरिरहेकै छन्, गाडी चढ्दा गाडीको खलासीको दुर्ब्यबहार सहि सहि सरकारले तोकेको भन्दा बढी भाडा पनि तिरिरहेकै छन् यति हुदाँ पनि यात्रुले आफ्नो गन्तब्यमा सुरक्षित तवरले पुग्न नपाउनु कहाँ सम्मको न्याय हो? के यो देशमा सर्बसाधारणको अधिकार रक्षा गर्ने कोहि नि छैन? आउनुहोस, यी दुर्घटनामा ज्यान गुमाएका यात्रुका हत्यारा को को हुन, खोजी गरौं।

‘नालायक’ सरकारी कर्मचारी र निकम्मा सरकार
यस्तो दर्दनाक स्थिति पैदा हुनका पछाडि सबैभन्दा पहिलो जिम्मेवार नेपाल सरकार र यसका नालायक कर्मचारीहरु हुन। नागरिकले उनीहरुको टाउकोमा लगाएको कर तिरि रहेकै छन् , त्यो कर उठाएर सरकारी जागिर खानेले मस्ति गरिरहेकै छन् ।  नागरिकले त आफ्नो दायित्व पुरा गरेका छन् तर सरकारी कर्मचारीले आफ्नो दायित्वको एक छेउ नि पुरा गर्न भ्याएका छैनन्। सवारी सम्बन्धि सम्पुर्ण निति नियम बनाई पालना गर्ने र गर्नलगाउने जिम्मेवारी भनेको सरकारको हो। तर सरकार पहिलो कुरा आफ्नो निति तथा नियम आफै बनाउन सक्दैन, कुनै बिदेशी दात्रृ निकायको सहयोग बिना यो सफल भएकै छैन। मरेर कति बर्ष लगाएर अरुले तयार गरिदिएको नियम पालना गर्न र पालना गराउनछन भनेर यीबाट त के आशा गर्नु?
खुल्ला बजार अर्थतन्त्रमा गइसकेको देशमा सरकारले आफैले सेवा उपलब्ध गराउने भन्दा पनि निजि क्षेत्रलाई सेवा उपलब्ध गराउन प्रोत्साहान गर्ने र त्यसको नजिकबाट नियमन तथा नियन्त्रण गर्ने हो। तर नेपालमा न त सरकार आफैले सेवा उपलब्ध गराउन सक्छ न त नियमन नै। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले घुम्ती निरिक्षकको व्यवस्था गरेको छ। त्यो व्यवस्था लागुभएको आज सम्म थाहा छैन। यसबाट के प्रष्ट हुन्छ भने, सरकारको यातायात क्षेत्रमा नियमन भन्ने चिज शुन्य प्राय छ।

सिण्डिकेट चलाउने ‘दादा’ भनाउदाहरु
जनताको कर खर्च गरेर बनाएको बाटोमा, ब्यक्तिगत पैसा खर्च गरेर किनेको गाडीधनीको गाडी कुद्न अबरोध गरिन्छ त्यो नि सिन्डिकेटको नाममा। केहि चुल्ठेमुन्द्र्ेको दादागिरि गाडीलाइनमा खपिनसक्नुछ नेपालमा। हरेक नयाँ गाडी सो रुटमा राखे बापत निश्चित रकम उनिहरुलाई छुट्टाउनुपर्ने हुन्छ। सरकारले तपाईलाई सरकारी बाटोमा हिड्न अनुमति दिएर पुग्दैन। त्यहाका दादा भनाउदासँग बिशेष स्विकृति अनिबार्य हुन्छ नत्र नयाँ गाडीको मुख कच्याक्कुचुक पारिछाड्छन्। यी दादाको योजना अनुसार थेारै गाडी सो रुटमा चलाउन दिदा यात्रुले त दुख पाएका छन छन, गाडीधनी नि बैंकको ब्याज तिर्न छट्पटाउनु परेको छ। हरेक पटक गाडी छुट्नु अघि दादा भत्ता (भलै समितिको नाममा तिरिन्छ) नतिरि हुन्न।
अहिले एउटा गाडी अरनिको यातायात रुटमा हाल्न मात्र आठ लाख सम्म गाडी धनीले समितिलाई बुझाउनुपर्ने नियम रहेछ। पछि हरेक टि्रपको चार्ज त तिर्नु नै पर्छ। पच्चीस लाखमा गाडी किन्यो अनि आठ लाख समितिलाई बुझाउदा सवारी धनीको हालत के होला? २०३८ सालबाट सुरु भएको अरनिको यातायातको सिण्डिकेट देशमा अठतिस वटा सरकार फेरिन लाग्दा नि तोड्न सकेको छैन। यसले गर्दा सवारीधनीले पुरानो गाडीलाई नयाँ बराबर रकम तिरिरहनुपरेको छ। अनि कसरी चल्छन त कण्डिसनमा रहेका गाडी?
एउटा भेटमा उद्योग बाणिज्य महासंघका पुर्ब अध्यक्ष कुशकुमार जोशीले भन्थे ‘दुई चार सय खाए त्यो ठुलो कुरो होइन तर त्यसरी तर्साएर धम्काएर खाएको पैसा अपराधिक काममा नै प्रयोग हुन्छ, त्यसले देशलाई कहिल्यै भलो गर्दैन।’ अहिले समस्या भनेको त्यहि हो। त्यसरी धम्काएर पैसा उठाउन बानी परेकाले जीन्दगीमा काम गरेर खान छोडिदिहाल्छ। अनि त समाजमा अपराधले स्वतः बढुवा पाउने नै भयो।
सिन्डिकेट चलाउने दादा भनाउदाहरुले यात्रुलाई मालसामानभन्दा बढीको कहिल्यै सोच्दैनन्। यात्रु र गाडी सुरक्षित गन्तब्यमा पुगुन वा नपुगुन उनीहरुलाई मतलबको कुरा होइन। दुर्घटना भए पनि उनीहरुको एक रुपैया जादैन, उनीहरुको ज्यान जादैन, उनीहरुको गाडी बिग्रिने होइन। यो सिण्डिकेट त उनीहरुलाई लगानी र जागिर बिनाको कमाइ मात्र हो।
सिन्डिकेटको श्रृजना हुनु र यसको जरा एकदमै दह्रो हुदै जानुमा सबैभन्दा प्रमुख जिम्मेवार यातायात व्यवस्था कार्यालय नै हो। तपाई कुनै नयाँ रुटमा गाडी चलाउछु भनेर स्विकृती माग्न जानुभयो भने सबैभन्दा पहिले समिति दर्ता गरेर आउनु भन्छ। त्यही नै हो सिण्डिकेटको पहिलो बिउ रोप्ने कार्य। पुरानो रुटमा त पहिले नै समिति दादाहरु पालेर बसिरहेको हुन्छ।
बाहिर जो जति उफे्रपनि खाँटि कुरोमा समातेर नफालेसम्म ती सबै गफमात्र हुन्। नेपालमा सिण्डिकेट नसकिएसम्म निसन्देहः यात्रुले बिनाकारण ज्यान गुमाईरहनुपर्छ।

सडक बिभाग
नेपालको सडक व्यवस्थापनको मुख्य जिम्मेवार निकाय भनेको सडक बिभाग नै हो। सडक बिभागले लापरबाहि र वास्ता नगर्दा धेरै सडक दुर्घटनाहरु भएका छन्। सडकलाई दुर्घटनामुक्त राख्नलाई बिभागबाट गर्नुपर्ने कामहरु जस्तै, सडकको डिजायन र मर्मत सम्हारमा कत्ति पनि ध्यान दिन सकेको छैन। नयाँ सडक खोले, काम सकियो भन्ने मनसायले भएका सडकको स्थिति काहालीलाग्दो छ। धेरै पर जानै पर्दैन, काठमाडौंका सडकको हालत हेरे छर्लङ्ग हुन्छ। ९० प्रतिशत भन्दा बढी मान्छे हिड्ने फुटपाथ मास्दै गाडी कुदाउन थालिएको छ। यत्रो एक्काइसौं शताब्दिमा आईपुग्दा नि मानिसले सवारी व्यवस्थापन गर्नुपरेको छ। ट्राफिक लाईट ले पनि सडक अनुशासन राखेर दुर्घटना न्युनिकरण हुन्छ भन्ने आजसम्म सडक बिभागका कर्मचारीको दिमागमा छिर्न सकेको छैन। सडक भनेको सडक मात्र हो भन्ने १९ औं शताब्दिको सोच आजसम्म नि मेटिन सकेको छैन। केहि ठाँउमा बिदेशीले राखिदिएका ट्राफिक लाईट त छन् तर तिनले काम गर्न छोडेको जुगौं बितिसक्यो। त्यति मर्मत गर्न समेत जाँगर पलाएको छैन। यति खिया लागेको सडक बिभागले आफ्नो जिम्मेवारी पुरा गरेर दुर्घटना न्युनिकरणहोला भनेर के आशा गर्नु? 

सवारी धनी
एक मित्रले ट्विटरमा लेखेका थिए यातायात ब्यबसायीहरु एसी राख्न सक्छन्, वाईफाई राख्न सक्छन, महङ्गा गाडी किन्न सक्छन्, तर एउटा राम्रो ड्राइभर राख्न सक्दैनन्। यातायात ब्यबसायीहरु राम्रो जानेको, अनुभबि ड्राइभरभन्दा बढी यात्रुबोक्न सक्ने र राम्रो कमाई दिनसक्ने ड्राइभरको खोजिमा हुन्छन्। राम्रो ड्राइभर राखेपनि तिनीहरुल्ााई अनाबश्यक दवाब दिएर असुरक्षित तरिकाले गन्तब्यसम्म पुग्न बाध्य पार्दछन्। उदाहरणको लागि, काँकडभिट्टा पुग्नुपर्ने बस बेलुकीको ६ बजेसम्म कलङ्कीमा नै यात्रु कुरेर बस्न बाध्य पारिन्छ अनि भोलिपल्ट भालेको डाकोमा काँकडभिट्टा नपुराए ड्राइभरको जागिर चट!
नेपालमा सवारी दुर्घटना हुने सबैभन्दा  मुख्य कारण भनेको गाडीको गति (स्पिड) नै हो। काठमाडौं पोखरा चल्ने पर्यटक बस चल्न थालेको दशौ बर्ष पुग्दा पनि दुर्घटना नहुनुको प्रमुख कारण यी बसहरु एकदमै बिस्तारै सुरक्षित तरिकाले हिड्छन। यो बस काठमाडौंबाट पोखरा पुग्दा सोहि रुटमा चल्ने माइक्रो बस पोखरा पुगेर काठमाडौं आइपुग्छ। अनि कसरी सुरक्षित हुन्छन त माइक्रोका यात्रुहरु? सवारी धनीलाई सुरक्षित यात्रा भन्दा पनि कमाईको सुरक्षाको सबैभन्दा बढी चिन्ता हुन्छ। दुर्घटना भइहाले, न त तिनिहरुको ज्यान जान्छ न त कुनै क्षति नै ब्यहोर्नुपर्छ। क्षति जति बिमा कम्पनीले ब्यहोर्छ कमाई भए आफ्नो एकलौटि। अर्को तर्फ यात्रु सबैभन्दा बढी हिड्ने अफिस टाइममा सवारी धनीले आफ्नो सवारी बिभिन्न स्कुल, कलेज तथा कार्यालयको लागि रिजर्बमा लगाइदिनाल आबश्यकताभन्दा कम सवारी सडकमा गुड्छन्। त्यसले गर्दा यात्रुले कोचामकोच भएर जोखिमपुर्ण यात्रा गर्न बाध्य हुन्छन् । जसरीसुकै होस पैसा कमाउने ध्याउन्नमा उनीहरु लागेकाले यात्रु अझ बढी असुरक्षित भइरहेका छन्।

डाइभर
अचेल नेपालमा अनुभबि पाका ड्राइभरको अभाब छ। अनुभबिहरु राम्रो कमाई खोज्दै बिदेशिन थालेपछि, यात्रुको जीन्दगी नयाँ तथा अनुभब कम भएका भर्खरका युवा ड्राइभरमा आएको  छ। सरकारको कमजोर लाइसेन्स बितरण प्रणलीको फाईदा उठाउदै जो पनि ड्राइभर बन्ने प्रचलनले दुर्घटना बढेको छ। गाडीको स्टेरिङ्ग समातेपछि त संसारकै ठुलो मान्छे भएको आफुलाई ठान्दछन्, बाटोमा हिड्ने बटुवा, त्यो भन्दा सानो सवारी चलाउने लाई त मान्छे गन्दैनन्। ठुला त नहुन पनि किन, त्यत्रा यात्रुको जीन्दगी तिनिहरुकै हातमा छ। तर ठुला ब्यक्तिको जसरी ठुलो सोच र ठुलै ब्यबहार तिनिहरुले प्रस्तुत गर्न सकेका छैनन्। मैले यात्रा गर्दा कयौं पटक ड्राइभरले भनेको सुनेको छु ‘मरे मलाई के भो र बिमाले पाँच लाख तिर्छ नि मेरो के जान्छ’ यस्तो सोच राखेर गाडी हकाउनेले कसरि गन्तब्यमा सुरक्षित तवरले पुर्‍याउछन सोचनिय कुरो छ।

ट्राफिक प्रहरी
यात्रुहरु सुरक्षित तवरले गन्तब्यमा पुगिरहेका छन कि छैनन भनेर चेकजाँच गर्ने जिम्मेवार निकाय ट्राफिक प्रहरी हो। तर, कतिपय अबस्थामा ट्राफिक प्रहरीले आँखा चिम्लिदा दुर्घटनाहरु भएका छन्। उनीहरुसँग नियम बिपरित सञ्चालन भएका सवारीलाई कारबाही गर्ने अधिकार छ तर सोहि अधिकारको प्रयोग सहि तरिकाले नगर्दा सडक असुरक्षति बन्दै गएको छ। आफुले नियम मान्न पो गाह्रो त अरुले नियम मानेनन् भनेर कारबाही गर्न पनि किन त्यसरी टाउको दुखेको होला?

स्वयमं यात्रु तथा आम नागरिकहरु
अरु पक्षजस्तै यात्रु तथा आम नागरिकहरु पनि यी दुर्घटनाको एक हिस्सा हुन्। अर्को गाडी खालि आउँछ भनेर एकछिन पनि कुर्ने धैर्यता नराख्ने र सुरक्षा यात्रुको जिम्मेवारी नभई ड?ड्राईभरको हो भन्ने सोचले पनि दुर्घटना बढेका छन्। सडकमा हिड्ने सर्बसाधारण बटुवाको त दादागिरि नै चल्छ सडकमा, बाटो काट्ने ठाँउको हेक्का नराखी जहाँ पायो त्यहिबाट हातले सवारी रोक्न सङ्केत गर्दै बाटो काट्ने सर्बसाधारणको ठुलो जमात छ। मानौ कि उनीहरुको हातमा गाडीको ब्रेक छ जहाँ हात देखायो त्यहि गाडी टक्क अडिन्छ। ट्राफिक प्रहरीले अहिले सम्म ड? ड्राईभरलाई मात्र कारबाही गरिरहेकामा अब ट्राफिक नियम नमान्ने सर्बसाधारणलाई कडा कारबाही गर्नुपर्छ। 
यी मरेका यात्रुहरुको भबितब्यमा मृत्यु भएको नभई, बिभिन्न पक्षको लापरबाहिको कारणले हत्या भएको हो। बिदेशमा भएको भए, यी लापरबाहिमा  संलग्नलाई हत्या अभियोगमा कारबाही हुन्थ्यो होला तर नेपालको बिडम्बना, कसैलाई पनि दुर्घटनाको दोषि भनेर सरकारले वा अदालतले हालसम्म किटान सम्म गरेका छैनन्। यस्ता घटनामा संलग्नलाई कडा भन्दा कडा कारबाही नगरेसम्म नेपालमा काहालीलाग्दो सवारी दुर्घटनाको खबर आइरहन्छ अनन्तकालसम्म।

यो लेख सेतोपाटीको लागि लेखिएको र त्यहि छापिएको थियो । यो लेख सेतोपाटीमा नै पढ्न लाई यो लिंक मा क्लिक गर्नु  होला ।