Thursday, August 21, 2014

देखेका पात्र @ हस्पिटल

दिन कटाउन गाह्रो भैरहेको बेला, हस्पिटल को बेडमा बसेर पुराना ब्लगहरु खोलेर हेरेको धेरै ब्लगहरु होटलको बेडमा बसेर लेखिएछ, आज कताकता हस्पिटलको बेडमा बस्दा, एउटा ब्लग लेख्ने मुड आयो । मेरो लागि एकदमै नयाँ अनुभुति । बिषय के त भन्दा अप्रेसन गरि दश दिन हस्पिटल बस्दा वरिपरि देखेका अबिस्मरणिय घटना तथा पात्रको सम्झना ।


(मलाई यी सबै पात्र र परिस्थितिको फोटो खिचेर ब्लगमा राख्न त मन थियो तथा मोबाइल बिग्रेकाले सम्भब भएन)

पात्र नं. १
नामः मोहन प्रसाद बजगाँई, घरः होक्से, काभ्रेपलान्चोक, पेसाः सरकारी स्कुलको शिक्षक र ब्यबसायिक कृषक ।

साना साना मान्छे, नेताको जस्तो गफ दिने कला, म लगायत अरुलाई हस्पिटलमा समय कटाउन गाह्रो भइरहेको बेलामा यी उमेर र तौल दुबै ४५ भएका नमुना ब्यक्ति भेट भयो । यी बसुन्जेल त हस्पिटलमा एकदमै रमाइलो भयो । यि मान्छेको मुखमा घाउ भएर स्याउ जत्रै डल्लो सुन्निएर हस्पिटलमा भर्ना भएका रहेछन् । हामी तिनको गफ सुन्न बेड भएको कोठा बाहिर बगैचामा जम्मा हुन्थ्यौं । कुरा गर्दै जान्थे, तिनले नजानेको केहि थिएन, राजनिति, धर्मकर्म, अर्थतन्त्र, कुटनिति....... यस्तैमा ती बिच बिचमा पिर पोख्थे । म त बिरामी भएर पो भर्ना भएको त, म मरिहाले भने.... अनि हामी तिनका गफका दर्शक÷श्रोताले सोध्थ्यौ, हैन बिरामी हुने बित्तिकै मान्छे मर्छ र भन्या, फेरी तपाईलाई त डाक्टरले केहि हैन सामान्य इन्फेक्सन हो भनेको हैन, त्यत्रो डराउनुपर्छ र भनेको ? ती पिडित आवाजमा हामीलाई भन्थ्ये, हैन यहि घाउ बढ्दै गएर क्यान्सर भयो भने त म मरिहाल्छु नि । अरु त खान सक्लान मेरो चार ओटि छोरी पछि जन्मेको चार बर्षको छोरोको त बिजोगै हुन्छ नि । बुढालाई आफुबाँच्ने नबाँच्ने पिर भन्दा नि त्यो चार बर्षको छोरोको पिरले खाना नि खादैनथे, र म त मरिजाउला मेरो छोरोले के गर्ला भनेर पिरै पिरमा बेडमा बस्दा जहिले नि झोक्राएर बस्थे । नर्सले भनेअनुसार सात दिन पछि डिस्र्चाज भइ घर जादा त बुढा पाँच किलो दुब्लाएछन्....

जतिखेर नि मर्ने डर भएका यी मान्छे, रोगले चाहि हैन पिरले मर्छन भन्ने हामी तिनका गफका श्रोताको निस्कर्ष थियो । हामी बेलाबेला तिनलाई बुढा तिमीलाई चिन्तै चिन्ताले चिताको बाटो देखाउला धेरै चिन्ता नगर भनेर जिस्काउथ्यौं, त्यसपछि बुढा गम्भिर हुदै भन्थ्ये, मर्न त मान्छे हो मरिजाइन्छ, तर अहिले नै मरे भने मेरो परिवार धनि हुदैन सबैले हेप्लान, अरु त जसरी नि बाचेर खालान, तर मेरो त्यो ४ बर्षको छोरोले के गरि बाँचि खाला ? हाम्रो हाँसोको फोहोरा छुट्थ्यो । हामी गफ सुन्ने मस्त चार जना केटाहरु जति नै ठुलो, जस्तो रोग लागे नि बिन्दास थियौ.. आज मरे भोली दुईदिन हुन्छ भन्ने बिचार भएकासँग बोलीपिच्छे मर्न डराउनेको एक हप्ते संगत कति रोचक थियो होला, सम्झदै रमाइलो हुन्छ ।


पात्र नं. २
मरेका मान्छेको जमात

मान्छे त काल आएपछि मर्छ भनिन्छ, एउटा मान्छेको जन्म र मराई कोहिसँग सम्बन्धित हुदैन भनिन्छ । तर यहा बस्दा अचम्म देखियो । मान्छे नि सल्लाह गरेर मर्छन कि के हो भन्ने भान भयो । सुरुमा त यो हस्पिटलमा
मान्छे मरेको थाहा नै पाइएन । हामी यहा मान्छे नै मर्दैनन कि के हो भनेर गफ गर्थौँ । एक दिनको मान्छे मराई देखेर हामी त अचम्ममा नै पर्यौ । मान्छे मरेपछि ल्याउने मेरै वार्ड बाहिर थियो । साउन ३१ गते राती एउटा मर्यो, त्यसपछि मर्ने क्रम सुरु भयो । भदौ १ गते श्रीकृष्णजन्माष्टमीको बिहानै अर्को, त्यसको एकछिनमा अर्को, त्यसलाई लगिनसक्दै अर्को... सबै चकित । त्यो दिन पछि म बसुन्जेल मान्छे नै मरेनन् । यमराजले नि अचेल हरेक हस्पिटलबाट लट लट मै एकपल्ट मान्छे उठाउन थालेछन् कि के हो, बुझ्नै सकिएन ।

पात्र नं. ३ - डाक्टर को नि कुरा 
पढेर त धेरै मान्छे डाक्टर भए, उनीहरु शरीरको रोग निको पार्नसक्छन् तर मनै देखि निको पारेको अनुभब गराउन सक्दैनन् । ती बाहिर बिरामी भए नि भित्रै बाट निको भएको अनुभब गराई खुसी पार्न सक्ने एउटी डाक्टर भेटियो । नाम थियोः डा. मोनिका । उमेरले रजत महोत्सब मनाउने बेला सम्म आइपुग्दा धेरै किसिमका डाक्टरसँग संगत गरियो, जाच गराइयो तर यति उत्कृष्ठ डाक्टरसँग पहिलोपल्ट संगत गर्ने मौका यसपालीको हस्पिटल बसाईले दियो । त्यो नि जिन्दगी कै पहिलो अप्र्रेशन गर्दा ।

अनुहारमा राम्री, बोलाईमा एकदमै मिठास अनि ब्यबहारमा एकदमै आत्मियता (मसँग मात्र हो कि सबैसँग पनि हो थाहा छैन) थियो डा. मोनिकासँग । यति गुण भएका डाक्टर मैले चिनेको एकजना दिदी (यहा नाम लेखिन), बाहेक अरुमा पाएको थिइन । त्यस्तै मान्छे मैले यहा भेटे । अहिले हस्पिटलबाट डिस्चार्ज हुँदा निको नभइसके पनि मसँग कुनै पनि रोग छैन भन्ने अनुभब गरिरहेको छु, डाक्टर कै कारण । उहालाई म कुनै डाक्टर देख्ने बित्तिकै सधै सम्झिरहन्छु । साच्चै डा. मोनिकालाई भित्रैबाट धन्यबाद । हुदा हुदा हस्पिटल बस्दा नि खुसि हुन छोडीएन.. सानो सानो कुरा मा नि खुसि भैरहियो :) :)

बिरामी भएर हस्पिटल बस्न नि कहिलेकाहि त मजा आउदो रहेछ । राम्रा राम्रा नर्सको चौबिस घण्टे सेवा, साथीभाइको Get Well Soon म्यासेज, कामको टेन्सनबाट मुक्ति, मिठो मिठो खाने कुरा । तर दिन र समय कटाउन भने कहिलेकाहि अति नै गाह्रो हुदो रहेछ । यो बिचमा मेरो स्वास्थ्य लाभको कामना गरि फोन गर्ने र म्यासेज पठाउने साथै मनबाट मात्र भित्रभित्रै कामना गर्ने र ठिक्क पर्यो भन्ने सबैलाई अब स्वस्थ हुदै गरेको शेषमणिको तर्फबाट शाधुबाद है । :) :)